जनकपुरधाम । जनकपुरमा हिन्दु समुदाय र प्रहरी बीच भएको झडपमा गोली लागेर एक जना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका हुन् ।
घाइते लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेको छ र उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन् । घाइते प्रहरीहरूको समेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठा स्थित झण्डाचोकमा टावरलाईटमा जडान गरिएको पोलमा हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच विवाद सुरु भएको थियो । यस क्रममा प्रहरीले ११ सेल अश्रु ग्यास प्रयोग गरेको थियो । प्रहरीले गोली र अश्रु ग्यास प्रहार गरेको थियो ।




