वीरगन्ज । किरण साह पक्राउ प्रकरणमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले झुठो बोलेको आरोप लागेको छ । वीरगन्जबाट सञ्चालित एक सञ्चार संस्थालाई दिएको अन्तर्वार्तामा किरण साहका परिवारको कुनैपनि सदस्य बिरामी भई अस्पताल भर्ना नभएको दाबी गर्दै नगर प्रमुख सिंहले वीरगन्जवासीलाई झुक्याएको किरणका परिवारका सदस्यहरुले दाबी गरेका छन् ।
साहले संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र आफू स्वयंलाई बदनाम गर्न स्टन्ट गरिएको आरोप लगाउँदै वीरगन्ज र देशका जनतासँग झुठो बोलेको तथ्य फेला परेको बताइएको छ । किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ ।
किरण साहका परिवारको कोहीपनि सदस्य अस्पतालमा भर्ना नरहेको नगर प्रमुखको भनाइ बारे छानबिन गर्दा किरण साहकी बहिनी संजा कुमारी साहकी २ वर्षीया छोरी कृतीका साह र ३ वर्षीय छोरा आर्यन साह वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा विगत एक सातादेखि भर्ना रहेको पत्ता लागिसकेको छ ।
साहकी भतिजी कृतीका झाडापखालाको गम्भीर बिरामी भएकी कारण भदौं ११ गतेदेखि नै अस्पतालमा भर्ना भएकी छन् भने भतिज आर्यन खुट्टाको शल्यक्रिया र झाडापखालाका कारण अस्पतालमा भर्ना भएको पत्ता लगाएको छ ।
नगर प्रमुख सिंहले सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा वीरगन्जका सरकारीदेखि निजी अस्पतालका सबै झाडापखाला सम्बन्धी बिरामीको तथ्यांक महानगरसँग दैनिक रुपमा अपडेट हुने गरेको र त्यसमा किरणका परिवारका कुनै सदस्य नरहेको असत्य जानकारी नागरिकलाई दिएको स्थानीयबासीले जनाएका छन् ।
भदौं ११ गते बुधबार झाडापखालाबाट गम्भीर बिरामी भएकी कृतीकालाई एनएमसीको आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि अहिले उनलाई आइसोलेशन वार्डमा राखी उपचार भइरहेको किरणका बहिनी ज्वाइँ शिव साहले जानकारी दिए ।
उनले छोरा आर्यनको खुट्टा भाँचिएपछि उपचार गराउन बाराको निजगढबाट वीरगन्ज आएको र सोही क्रममा वीरगन्जको मुर्लीस्थित किरण बस्ने डेरामा बस्दा छोरा–छोरीले धाराको पानी खाएपछि दुवै जना झाडापखालाबाट गम्भीर बिरामी भएको बताए ।
‘पहिले नै छोराको खुट्टा भाँचिएको थियो, त्यसपछि छोरा–छोरी दुवैमा झाडापखालाको समस्या भएपछि नेशनल मेडिकल अस्पतालमै भर्ना गराइयो । यही विषयलाई लिएर किरणले खानेपानी मन्त्री प्रदीप यादव र मेयर सिंहलाई फोन गरेका थिए,’ शिव साहले जानकारी दिए ।
किरणले फोन गरी मन्त्री र मेयरलाई ‘तपाईँहरूले जनतालाई पानी वितरण गर्दा पानी ठीक छ कि छैन भन्ने परीक्षण गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गर्दा थुनामा परेको उनको भनाइ छ । पहिले भतिजा, पछि भतिजी र त्यससँगै किरणका ७३ वर्षीय पिता तुल्सी साह र आमा सावित्री साह पनि बिरामी भए ।
उनीहरूले मानसिक सन्तुलन गुमाउँदै मन्त्री र मेयरलाई फोन गरेर चर्को स्वरमा कुरा गरेको शिव साहको भनाइ छ । पिता तुल्सी साह र आमा सावित्री देवीलाई उपचारका लागि वीरगन्जको एड्भान्स अस्पताल लगिएको थियो । स्वास्थ्य सुधार भएपछि दुवैलाई मुर्लीस्थित डेरामा ल्याइएको उनले बताए ।
‘सरकारको लगानीमा वितरण गरिएको पानी खानेयोग्य छ कि छैन भन्ने परीक्षण नगरी नागरिकको ज्यानसँग खेलवाड गर्नेहरूमाथि कारवाही हुनुपर्ने ठाउँमा मन्त्री र मेयरको जवाफदेहिताको खोजी गर्ने किरणलाई जेलमा हाल्नु कत्तिको न्यायोचित हो ?’ भन्ने प्रश्न शिव साहले उठाएका छन् ।
डेरामा बिरामी रहेका किरणका माता–पिताको हेरचाह गर्ने कोही छैन । ‘उनीहरूलाई केही भयो भने मन्त्री र मेयरले त्यसको जिम्मा लिन्छन् कि लिँदैनन् ?’ भन्ने प्रश्न पनि किरणका बहिनीज्वाइँ शिव साहले गरेका छन् ।
मन्त्री र मेयरलाई झर्केर कुरा गर्दा किरणमाथि मुद्दा चलाइन्छ तर किरणलाई दैनिक रूपमा मन्त्री र मेयरका समर्थकहरूले सामाजिक सञ्जालमा मानमर्दन गर्दा राज्यले कारबाही गर्ने कि नगर्ने भन्ने प्रश्न आम नेपाली जनतासमक्ष शिव साहले तेर्साएका छन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ सिस्वा महेशपुरमा जन्मिएकी किरण साह मात्र ८ कक्षा पढेकी भए पनि म्युजिक एल्बममा काम गर्दै माता–पिताको भरणपोषण गर्दै आएकी हुन् ।
उनका बहिनीज्वाइँका अनुसार, किरणका दुईजना ठूला दाइ भए पनि माता–पिताको हेरचाह नगरेपछि किरण एक्लै जिम्मेवारी उठाउँदै आएकी थिइन् । अहिले उनलाई थुनामा राखेपछि उनका माता–पितालाई राज्यले कसरी हेर्ने भन्ने प्रश्न समाज अगाडि तेर्सिएको छ ।
मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएको विषयमा खानेपानी मन्त्री यादवका पर्सनल असिस्टेन्ट (पीए) हरेन्द्र साहले दिएको निवेदनका आधारमा किरणलाई प्रहरीले पक्राउ गरेको हो । तर, किरणलाई अपमानित गर्दै सामाजिक सञ्जालमा दैनिक रूपमा मन्त्री र मेयरका समर्थकहरूले गरेका क्रियाकलापको लेखाजोखा राज्यले राख्छ कि राख्दैन भन्ने प्रश्न अहिले जनतामाझ ठडिएको छ ।




