सर्लाही । महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा करिब २५ लाख रुपैयाँ बराबरको अनियमितता भएको उल्लेख गरेको छ । सोलार, विद्युतीय चुलो, आयुर्वेद औषधि र ट्रान्सफर्मर मर्मत खरिदमा ठूलो रकम नियमविपरीत खर्च गरिएको प्रतिवेदनमा औंल्याइएको छ ।
सुशासन र विकासका भाषण गर्ने गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा पालिकामा भ्रष्टाचार मौलाएको जस्तो देखिने गरी प्रतिवेदनले यस्ता चार प्रमुख अनियमितता सार्वजनिक गरेको हो ।
१. विद्युतीय चुलो खरिदमा ८ लाखको अनियमितता
गाउँपालिकाले ८ लाख रुपैयाँ खर्चेर खरिद गरेका २०० थान विद्युतीय चुलो लाभग्राहीसम्म नपुगेको महालेखाले जनाएको छ । नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७३ अनुसार उपभोक्ताको १० प्रतिशत नगद योगदानमा मात्र यस्तो परियोजना सञ्चालन गर्न सकिने भएपनि पालिकाले सो प्रावधान पालना नगरी प्रतिचुलो ४ हजार रुपैयाँ दरले खरिद गरी भुक्तानी गरेको देखिएको हो ।
२. आयुर्वेद औषधि खरिदमा ५ लाख अनियमितता
गाउँपालिकाले प्राकृतिक हर्बास्युटिकल्स प्रा.लि. सँग ४,९९,९९६ रुपैयाँ बराबरको आयुर्वेद औषधि खरिद गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गतको आवश्यक प्रक्रिया पालना नगरेको पाइएको छ । तीन आपूर्तिकर्ताबाट दरभाउपत्र लिनुपर्ने प्रावधान नमानिएकाले सो खर्च अनियमित ठहर गरिएको छ ।
३. ट्रान्सफर्मर मर्मतमा २ लाख अनियमितता
गाउँपालिकाको वडा नं. ७ मा गरिएको ट्रान्सफर्मर मर्मतमा २ लाख रुपैयाँ अनियमित देखिएको छ। तीन आपूर्तिकर्ताबाट लिखित दरभाउपत्र लिनुपर्ने कानुनी व्यवस्था विपरीत प्रस्तुत दरभाउपत्रमा कुनै छाप वा प्रमाण नपाइएको कारण उक्त खर्च शंकाास्पद ठहर गरिएको हो ।
४. सोलार खरिदमा ९ लाख ४० हजार अनियमितता
गाउँपालिकाले ८ थान सोलार खरिदमा ९,४०,१०४ रुपैयाँ खर्च गरेको छ । तर, उपभोक्ता समितिबाट १० प्रतिशत नगद योगदानमा मात्रै सोलार जडान गर्नुपर्ने कार्यविधि विपरीत कम्पनीमार्फत सीधै खरिद गरिएको पाइएको छ ।




