रौतहट । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मतमा रौतहटका युवाहरु जुटेका छन् । चन्द्रपुरमा रहेका सचेत तथा अगुवा युवाहरुको समुहले शुक्रबारदेखि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन सरसफाई तथा मर्मतमा सक्रिय भएका हुन् ।
केहि दिन अघि आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचना क्षति पुगेको छ भने अधिकांश फर्निचर जलेर नष्ट भएका छन् । अहिले भवनभित्र जलेका सामानहरु निकालेर सरसफाइ गरिएको युवा अगुवा सुमन गौतमले बताए ।
उनका अनुसार करिब दुई साता भित्रमा भवन बस्नयोग्य बनाएर प्रहरीलाई नै हस्तान्तरण गर्ने योजना छ । यसका लागि यहाँ युवाहरुले नि:शुल्क श्रमदान र केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।
अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।
आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिकलाई उनले आह्वानसमेत गरेका छन् । सफाइमा जुटेका शिवशंकर चौलागाईले भने,‘जलेको भवन मर्मत गरेर प्रहरीलाई पुन: स्थापित गर्नु नागरिकको दायित्व हो, त्यसैले हामी युवाहरु लागेका हौं ।’
भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ । आन्दोलनका क्रममा कार्यालयभित्र रहेका मोटरसाइकल, भ्यानलगायतका सामग्री जलाइएका थियो ।
जेनजी आन्दोलनको क्रममा चन्द्रपुर नगरपालिका ,डिभिजन वन कार्यलय , ट्राफिक भवन, सडक डिभिजन लगायतका कार्यलयमा अगाजनी हुदा महत्त्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएको छ ।




