वीरगन्ज । वीरगन्जमा भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा भएको तोडफोड, आगजनी र लुटपाटबाट भएको क्षतिको विवरणलाई लिएर विवाद देखिएको छ । महानगरपालिकाले यसबाट १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले मात्र करिब १३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रहरी प्रतिवेदन अनुसार, आन्दोलनकारी समूहले अपराह्न कार्यालयमा प्रवेश गरी सवारीसाधन, भवन र अन्य सम्पत्ति क्षति पुर्याएका थिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग सहकार्य नगरेकाले तथ्याङ्क फरक देखिएको हो । उनका अनुसार कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका थिए ।
आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको छ । उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै भएपनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक देखिएको हो । त्यस्तै, भदौं २४ गतेको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।
प्रहरी प्रतिवेदन अनुसार ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा आन्तरिक राजस्व कार्यालयमा ६० लाख, नेपाल टेलिकम घटाघरस्थित कार्यालयमा २ करोड, वीरगन्ज महानगरपालिकामा १३ करोड, वडा नं. १० कार्यालयमा ६ लाख, वडा नं. २६ कार्यालयमा १० लाख, वडा नं. १४ कार्यालयमा ३ लाख, जिरा भवानी गाउँपालिका कार्यालयमा ५० लाख, वीरगन्ज कारागारमा ३ लाख, विर्तास्थित बाल सुधार गृहमा ७ लाख, पोखरिया नगरपालिका कार्यालयमा १५ लाख, चिनी मिलस्थित उच्च अदालत अस्थायी कार्यालयमा २० लाख र भूमि जलस्रोत तथा सिंचाइ कार्यालयमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।




