धनुषा । धनुषामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
लक्ष्मीनिया गाउँपालिका १ सोहनीस्थित सडकमा म प्र ०२-००६ प ५४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मिथिला नगरपालिका २ बस्ने ३२ वर्षीय सरोज महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते भई सोही अस्पतालमा उपचाररत छन् ।
यस्तै, कमला नगरपालिका २ माची टोलस्थित सडकमा बीआर३२ एस ७९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृतकमध्ये चालक जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १९ वर्षीय राहुल महतो रहेका छन् ।
गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते अन्य एक जना जानकी हेल्थ केयर जनकपुरमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।




