सप्तरी । सप्तरीको राजविराज कारागारबाट गत भदौ २५ गते फरार भएका दुई कैदी मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा सप्तरीको बलानबिहुल गाउँपालिका ४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका १० का ४० वर्षीय सन्तोष तामाङ रहेका छन् ।
दुवै जना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए । प्रहरीका अनुसार बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका ६ रञ्जितपुरमा मृत फेला परेका थिए भने तामाङ भदौ २७ गते राजगढ गाउँपालिका ३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
‘दुवै घटनामा प्रारम्भिक अनुसन्धानले आत्महत्या भएको देखाएको छ,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी बस्नेतले बताए, ‘तर थप अनुसन्धान भइरहेको छ ।’
कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका तामाङलाई २५ वर्ष कैद सजाय भोग्न २०७५ पुस १५ गते कारागार चलान गरिएको थियो भने बरही पनि सोही मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
गत भदौ २५ गते राजविराज कारागारमा ‘जेन–जी’ आन्दोलनको क्रममा कैदीबन्दीले आगजनी गर्दै सामूहिक रुपमा भागेका थिए । त्यसबेला २०५ कैदीबन्दी फरार भएका थिए भने हालसम्म १०३ जना पक्राउ परेका छन् ।




