सिरहा । सिरहाको गोलबजारमा पुनः अवैध अनुदानित मल बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका ६ ढोहटियास्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा युरिया र डिएपी मल फेला परेको हो ।
अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारले अनुदानमा वितरण गर्ने मल लुकाइराखिएको अवस्थामा भेटिएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य तथा इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिए ।
यसअघि असोज ८ गते पनि प्रशासनले गोलबजारकै न्यु कुशवाहा बिज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको थियो । कृषि सामाग्री कम्पनी लिमिटेड मार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको प्रशासनले जनाएको छ ।
बरामद मलमध्ये करिब ३० बोरा डिएपी र १० बोरा युरिया तत्काल नियन्त्रणमा लिइएको छ । सहनीको घरमा मल भेटिएपनि यसको स्वामित्व स्पष्ट नभएको प्रशासनले जनाएको छ ।
छापामारीको क्रममा घरमा कोही नभएकाले प्रशासनले घरमा ताल्चा लगाएर सात दिनभित्र सम्पर्कमा आउन घरधनीलाई आग्रह गरेको छ । प्रत्येक बोरा मलमा रातो मार्करले “जिल्ला प्रशासन कार्यालय सिरहा” लेखेर कर्मचारी टोली फर्किएको थियो ।
अनुगमन टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोलबजार नगरपालिका ६ का वडाध्यक्ष संजित लामाको समेत सहभागिता थियो । स्थानीयका अनुसार मल मुकेश बिज भण्डारमार्फत घरमा राखिएको हुन सक्ने बुझिएको छ ।




