बारा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलाको पुल निर्माणमा चरम ढिलाइ भएको छ । तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल सात वर्ष बित्दा पनि अधुरै रहनु स्थानीयवासी र यात्रुका लागि ठूलो समस्या बनेको छ ।
पुल निर्माणको जिम्मा पाएको महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंका प्रोपाइटर तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ । तर, आवश्यक प्रगति नहुँदा पुल अझै निर्माणाधीन अवस्थामा छ ।

सडक विभाग मातहतको पुल महाशाखाले ९० मिटर लम्बाइ र २३ मिटर चौडाइको चार लेन पुल निर्माण गर्न १७ करोड २२ लाख रुपैयाँमा २०७५ असार २४ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल २०७८ असार २३ भित्र सम्पन्न हुनुपर्ने थियो । तर, तोकिएको म्यादभित्र काम पूरा नभएपछि कम्पनीले विभिन्न बहाना देखाउँदै पटक–पटक अवधि थप्दै आएको छ ।

यात्रु र सवारी साधनलाई सास्ती
पुल निर्माणमा ढिलाइ हुँदा यात्रु र सवारी साधनलाई दैनिक सास्ती भोग्नुपरेको छ । वर्षायाममा खहरे खोला बढ्दा आवागमन जोखिमपूर्ण हुन्छ भने खोला सुकेपछि मात्र आवतजावत सम्भव हुने चालकहरूले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षकका अनुसार पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीले वर्षायाममा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ ।

इतिहास
दुधौरा खोला तत्कालीन सोभियत संघ (रुस) को सहयोगमा २०२६ सालमा ८९.३ मिटर लम्बाइको पुल निर्माण भएको थियो । तर, समयसँगै उक्त पुल जीर्ण बनेपछि निर्माण सुरु गरिएको थियो । पूर्वका जिल्लाबाट काठमाडौंसहित पश्चिमतर्फ आवतजावत गर्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग नै मुख्य मार्ग भएकाले दुधौरा पुलको ढिलाइले समग्र यातायात प्रणाली नै प्रभावित बनेको छ ।




