महोत्तरी । महोत्तरी बर्दिबास नगरपालिका खैरमारामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं–खैरमारा रुटमा चल्ने ना ६ ख १४६३० नम्बरको बस शनिबार बिहान काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । बस पल्टिँदा करिब ८० वर्षीय स्थानीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।
दुर्घटनामा घाइते भएका यात्रुमध्ये केहीलाई उद्धार गरेर स्थानीय अस्पताल लगिएको छ । दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




