जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न स्थानमा गरिएको तोडफोड र आगजनीका कारण राज्यलाई ७ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी निकायमा आक्रमण गरेका थिए । ती सबै कार्यालय अहिले मर्मत सम्भारपछि पुन: सञ्चालनमा आएका छन् भने आन्दोलनका कारण विस्थापित प्रहरी पनि आफ्नो काममा फर्किएका छन् ।
प्रहरीका अनुसार आन्दोलनकारीले विशेष गरी सरकारी सवारी साधनलाई निशाना बनाएका थिए । करिब २ करोड ६ लाख ७८ हजार ३ सय ८० रुपैयाँ मूल्य बराबरका सवारी साधन जलाइएका छन् ।
अहिले आन्दोलनको प्रभाव क्रमश: न्यून हुँदै गएको र सुरक्षाकर्मीलाई जिम्मेवारीमा पुन: परिचालन गरिएको प्रहरीले जनाएको छ ।




