जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाव बढेको छ । दशैं समापनपछि दुर्गा माताको प्रतिमा विसर्जनका क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप सुरु भएको थियो ।
झडपको क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनी प्रयास गरेका थिए ।
प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी र स्थानीय पनि घाइते भएका छन् । स्थिति बिग्रन थालेपछि स्थानीय प्रशासनले वडा नम्बर २० भित्र साँझ ६:३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । यो क्षेत्र पहिले पनि तनावग्रस्त रहँदै आएको छ ।
गत भदौ दोस्रो साता गणेश पूजाको मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यस क्रममा एक समुदायले पोलमा राखेको झण्डा हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो र दुवै समुदायको झण्डा हटाइएको थियो । भदौ १६ गते मात्रै सर्वपक्षीय बैठक बसेर सहमति र सद्भाव कायम गर्ने निर्णय गरिएको थियो ।





