सर्लाही । अविरल वर्षापछि आएको बाढीले सर्लाहीको जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ । विभिन्न खोलामा पानीको सतह बढेपछि हजारौँ घर परिवार डुबानमा परेका छन् भने सयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिब १ हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरूलाई अन्यत्र सारिएको छ । बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो ।
लखन्देही, झिम, बाँके, सोती र मनुस्मारा खोलामा पानीको वहाव अत्यधिक बढेको छ भने बागमती नदीमा आएको बाढीले बलरा नगरपालिकाका चार गाउँ डुबानको जोखिममा पारेको प्रहरीले जनाएको छ ।
सबैभन्दा बढी क्षति लखन्देही खोलाले पुर्याएको छ । यस खोलाले चक्रघट्ट गाउँपालिका १ पडरियामा २० कच्ची घर पूर्ण रूपमा भत्किएका छन् भने कौडेना गाउँपालिका ३ मा १५० मिटर हुलाकी सडक बगाएको छ ।
ब्रह्मपुरी गाउँपालिका ७ मा आदवारा खोलाको बाढीले कल्भर्ट बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध भएको छ । बाढी तथा डुबानका कारण बसवरिया, चक्रघट्ट, मलङ्वा, बलरा, धन्कौल, बरहथवा, कौडेना, ब्रह्मपुरी, हरिवन, गोडैता र कबिलासी नगर तथा गाउँपालिकाका स्थानीयवासीहरू प्रभावित भएका छन् ।
लखन्देही खोलाको बाढीले चक्रघट्ट ५ का १८ घर विस्थापित गराएको छ । बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई पनि प्रहरीले उद्धार गरेको थियो । मलङ्वा नगरपालिका ८ गोरखकालीस्थित भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।
बलरा नगरपालिकाका वडा नं १, ३, ४ र ५ का ९ सय घर डुबानमा परेका छन् । वडा नं १ को छन्की टोलका ५० परिवार विस्थापित भएका छन् । सहनी टोला र मुस्लिम टोलका बस्तीहरू पनि डुबानमा परेका छन् । स्थानीयहरूलाई अहिले बागमती ड्याम क्षेत्रमा सुरक्षित रूपमा राखिएको छ ।
मनुस्मारा खोलाले धन्कौल गाउँपालिका ३ हरकठवा र वडा नं ४ महिनाथपुरमा बाढीको जोखिम बढाएको छ । उक्त खोलाको बाढीले धन्कौल–रौतहट जोड्ने बाटो अवरुद्ध भएको छ ।
बरहथवा नगरपालिकामा सोती र टिकुलिया खोलाको बाढीले वडा नं ७ र १६ का बस्तीहरू जोखिममा पारेको छ भने कौडेना गाउँपालिका–७ शिवनगर, वडा नं ३ कौडेना, वडा नं ५ पर्सा र छप्कैया, वडा नं ६ सक्रौलमा लखन्देही खोलाको पानी पसेर ठूलो क्षति पुर्याएको छ ।
सो क्षेत्रमा १७ जना स्थानीयको उद्धार गरिएको छ । वर्षाको कारण कविलासी नगरपालिका २ पिपरियामा घरको पर्खाल भत्किँदा ९ वर्षीया शिवानी सिंह घाइते भएकी छन् । उनका खुट्टाको हड्डी भाँचिएको छ । कविलासी ८ अघर्वा र वडा नं ४ हेमपुरका घरहरूमा पनि पानी पसेको छ ।
यस्तै, गोडैता ८ प्रहरी चौकी गोडैता र चन्द्रनगर ५ प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ब्रह्मपुरी ४ झिम खोलामा आएको बाढीलाई हाल अस्थायी ड्याम निर्माण गरेर नियन्त्रणमा लिइएको छ ।
सर्लाही प्रहरीका अनुसार वर्षा र बाढी अझै नरोकेकाले जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।




