सर्लाही । सर्लाही प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका १ नवलपुर टोलको भित्री सडकबाट तीन जना र वाग्मती नगरपालिका ६ राधाकृष्ण मन्दिर नजिकको बाँसघारीबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरका १८ वर्षीय प्रिन्सकुमार यादव, भारत विहार राज्य सीतामढी जिल्लाको सोनवर्षा थाना अन्तर्गत बसन्तपुर गाउँका २० वर्षीय कृष्णकुमार यादव र सोही गाउँका १७ वर्षीय किसनकुमार साह रहेका छन् ।
डिएसपी सरोज राईका अनुसार, प्रहरी टोलीले बीआर ०६ सिभी ९९८५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट ओनरेक्स–१०० एमएलका ११७ बोतल प्रतिबन्धित लागुऔषध फेला पारेको हो ।
त्यस्तै, वाग्मती नगरपालिका–६ बाट प्रहरीले २८ वर्षीय जीवन घिसिङलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा प्र ०२–०३० प ५५७० नम्बरको मोटरसाइकल रोकेर प्रहरीले खानतलासी गर्दा कालो प्लास्टिकको झोलामा ट्रामन ५० लेखिएको २१४ क्याप्सुल र स्पासमोम लेखिएको २०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
चारै जना माथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




