सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका ४ त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै बरामद गरेको भन्दै सोमबार सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ ।
प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर ०६ बीटी ३४३६ नम्बरको मोटरसाइकलसहित नगद पाँच लाख ४५ हजार रुपैयाँ लिएर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिले रकमको स्रोत स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको हो ।
तर, मन्सुर परिवार र स्थानीयले भने प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरूको भनाइ अनुसार विवाहको सरसामग्री किनमेलका लागि रकम लिइरहेका बेला प्रहरीले ‘अवैध रकम’ भन्दै लुटपाटजस्तो शैलीमा रकम बरामद गरेको हो ।
प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन् ।
मोहनपुरकी अप्सना खातुनका अनुसार छोरीको विवाहका लागि किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन् । तर, प्रहरीले वास्तविकता नबुझी हतारमा भन्सारमा बुझाएको आरोप उनले लगाइन् ।
प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन् । उनले मलङ्गवाबाट पैसा झिकेर त्रिभुवननगरतर्फ लैजाने प्रयोजन पनि शंकास्पद रहेको बताए ।




