बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका ३ नौतनबाट प्रहरीले करिब १९ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका ३ सानो देउतीका ४२ वर्षीय रामाशंकर दास रहेका छन् । उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वीरगंजतर्फबाट पैदल प्रसौनीतर्फ आउँदै गरेका बेला दासको शरीरतलासी गर्दा सो लागूऔषध फेला परेको थियो । बरामद पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




