काठमाडौं । पर्सा र धनुषा जिल्लामा प्रहरीले करिब ८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटका बरामद गरेको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका ८ मिनाबजारबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटका शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिनाबजारस्थित एक सटरमा वेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका पाँच बोरामा रहेका पटका फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका १ कमला नदीको बाँध नजिकबाट करिब १ लाख ४० हजार २ सय ६० रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटका शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीलाई देखेपछि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका अपरिचित व्यक्तिहरूले पटका फालेर फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी जारी रहेको र बरामद गरिएका पटका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




