बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ढल्केबर–पथलैया सडकखण्डको स्तरोन्नति कार्यको लागि सार्वजनिक सुनुवाइ सम्पन्न भएको करिब डेढ वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा १३० किलोमिटर लामो सडकखण्डलाई साबिक राजमार्गको बीच भागबाट दायाँबायाँ २५–२५ मिटर चौडा बनाइने र मुख्य सडकको दुवैतर्फ ७.५–७.५ मिटरको चार लेन रहने जानकारी दिइएको थियो ।
त्यसका साथै, सडकको दुवै साइडमा २.५–२.५ मिटरको सोल्जर लेन, दुई दुई मिटरको साइकल लेन, नाला र फुटपाथ रहनेगरी डिजाइन गरिएको बताइएको थियो । सडकको सबबेस २० सेन्टिमिटर र माथिल्लो सतह १४ सेन्टिमिटर हुने र आवश्यक स्थानमा बक्स कलभर्ट निर्माण गरिने योजना प्रस्तुत गरिएको थियो ।
सडकखण्डको स्तरोन्नतिमा करिब ८८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । योजना अनुसार निजगढ क्षेत्रमा पर्ने एउटा घर, छ वटा प्रतीक्षालय, एउटा मन्दिर, एउटा पेट्रोल पम्प, दुई वटा चौतारा, एउटा सार्वजनिक शौचालय र इलाका प्रहरी कार्यालयको पर्खाल सडक क्षेत्रभित्र पर्ने जानकारी दिइएको थियो । हाल पेट्रोल पम्पले सडक क्षेत्र छोडेर व्यवसाय सञ्चालन गरिरहेको छ ।
सडक विस्तारका क्रममा ३० हजार ८२७ वटा रूख मासिनुपर्ने र प्रतिरूख १० वटा नयाँ बिरुवा रोपेर पाँच वर्षसम्म हुर्काइबढाइ वन मन्त्रालय मातहतका निकायलाई हस्तान्तरण गरिने योजना बनाइएको थियो । डिजाइनका क्रममा पानीको निकास, खानेपानीको पाइपलाइन विस्तार, विद्युत् लाइन, वन्यजन्तुको आवागमन, वातावरण संरक्षण लगायतका विषयमा स्थलगत अध्ययन गरिएको भएपनि निजगढ क्षेत्रमा अहिलेसम्म काम सुरु भएको छैन ।
सार्वजनिक सुनुवाइमा सहभागी सरोकारवालाहरूले सडक निर्माणका क्रममा धूलो नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने, बस्ती क्षेत्रमा तोकिएको समयमा निर्माण सम्पन्न गर्नुपर्ने, वर्षाको पानीको उचित निकास हुनुपर्ने, सवारी साधनका लागि पार्किङको व्यवस्था गर्नुपर्ने, आवश्यकता अनुसार जेब्रा क्रसिङ र आकाशे पुल बनाउनु पर्ने तथा ट्राफिक जनचेतनामूलक आधुनिक बोर्ड राखिनुपर्ने सुझाव दिएका थिए । त्यस्तै, बकैया पुललाई सिग्नेचर ब्रिजको रूपमा विकास गर्नुपर्ने सुझाव पनि सार्वजनिक सुनुवाइमा उठाइएको थियो ।




