बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) चन्द्रबहादुर सिंह माथि बुधबार बिहान कुटपिट भएको छ । राजमार्गमा सवारी जाँचका क्रममा बिहान करिब ३ बजे ट्रकमा सवार १७ वर्षीय युवकले असई सिंहमाथि हातपात गरेका हुन् ।
कुटपिटबाट सिंहको टाउकोमा चोट लागेर तीन टाँका लगाउन परेको प्रहरीले जनाएको छ । उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । घटना त्यसबेला भएको थियो जब सिंहले मधेश प्र.०३–००१ त ८९१४, मधेश प्र.०३–००१ त ८११२ र मधेश प्र.०३–००१ त ८८८५ नम्बरका तीन ट्रक जाँचका लागि रोकेका थिए । ती ट्रकमा धान काट्ने मेसिन लोड गरिएको थियो ।
कागजपत्र जाँच गर्ने क्रममा विवाद बढ्दै गएपछि तीमध्ये एक ट्रकमा सवार युवकले असई सिंहमाथि कुटपिट गरेको बताइएको छ । घटना लगत्तै ट्राफिक प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा बुझाएको हो । हाल युवक प्रहरी नियन्त्रणमा रहेका छन् भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।




