वीरगंज । पर्साको ठोरी गाउँपालिका ४ हुलाकी सडकमा गएराति एक जना मोटरसाइकल चालक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अविनाश अधिकारीको टोली घटनास्थलमा पुगेको र त्यसबेला नै मोटरसाइकल चालकको मृत्यु भइसकेको पर्सा जिल्ला प्रहरी कार्यालय (जिप्रका) ले जनाएको छ ।
मृतक ठोरी गाउँपालिका ५ बाघमोर्चा निवासी ३५ वर्षीय फुर्वा लोप्चन रहेको प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार लोप्चन सवार मोटरसाइकललाई कुनै अर्को सवारीसाधनले ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलदेखि करिब एक किलोमिटर टाढा एउटा ट्याङ्कर फेला परेको र सो ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङ्कर चालक भारतीय नागरिक भएको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




