रौतहट । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिएपछि यस वर्षको छठ पर्व सम्पन्न गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने चारदिने यो पर्व सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा सम्पन्न भएको हो ।
रौतहटको चन्द्रपुर, गरुडा, गौरसहित जिल्लाका १८ वटै पालिकामा रहेका जलाशय र घाटमा पुगेर ब्रतालुहरूले छठ पूजा गरेका थिए । अर्घ्यका क्रममा ठेकुवा, कसार, केरा, उखु, मेवा, मिष्ठान्न, गेडागुडी, विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने परम्परा छ ।
धार्मिक विश्वासअनुसार, सूर्यलाई अर्घ्य दिएर छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने तथा छाला र आँखाका रोग नलाग्ने मानिन्छ । छठ पर्व सकिएपछि नदी किनारमा छठ पूजा समिति तथा स्थानीय बासिन्दाले सफाइ अभियान थालेका छन् ।
छठ मनाउने क्रममा जम्मा भएको फोहर व्यवस्थापनका लागि अभियान चलाइएको चन्द्रपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । उनका अनुसार यस वर्ष पनि छठ पर्व शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।
पर्व सम्पन्न भएपछि घरपरिवारका सदस्य र आफन्तलाई प्रसाद बाँड्ने परम्परा रहँदै आएको छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । छठ पर्व विधिपूर्वक पूजा, प्रार्थना र आराधना गरी चार दिनसम्म मनाइन्छ, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नु मुख्य विधि मानिन्छ ।




