सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीको पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अधुरै छ । पुल नबन्दा दुई जिल्लाका बासिन्दा आज पनि स्थानीय पहलमा बनाइएको अस्थायी काठेपुलमार्फत आवतजावत गर्न बाध्य छन् । स्थानीयहरूले उक्त काठेपुल तर्न प्रतिव्यक्ति २० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
यसअघि यो शुल्क १०० रुपैयाँसम्म लिइँदै आएको भएपनि हाल नगरपालिकाको समन्वयमा २० रुपैयाँ कायम गरिएको छ । नगरपालिकाका अनुसार कुनै ठेक्का वा बोलपत्रमार्फत पुल सञ्चालन गरिएको छैन, तर स्थानीय युवाहरूको पहलमा आवतजावत सहज बनाउन काठको पुल निर्माण गरी मर्मत खर्चका लागि शुल्क लिइएको हो ।
तर स्थानीयवासीले यस्तो असुलीलाई गैरकानुनी बताउँदै असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार काठेपुलबाट दैनिक लाखौं रुपैयाँ उठ्ने गरेपनि त्यसको पारदर्शिता छैन । उनीहरू नगरपालिकाले यो आवतजावत निःशुल्क गर्नुपर्ने माग गर्दै आएका छन् ।
हरेक वर्ष मनसुन सुरु हुनासाथ नदीमा आउने बाढीले काठको पुल बगाउने र पानी घटेपछि पुनर्निर्माण गर्ने क्रम दोहोरिँदै आएको छ । वर्षायाममा पुल बगाएपछि स्थानीयहरू जोखिमपूर्ण रूपमा डुङ्गा प्रयोग गर्न बाध्य हुने गरेका छन् ।
पुल नहुँदा सिरहा, धनुषा र सप्तरीका बासिन्दालाई प्रदेश राजधानी जनकपुर पुग्न अत्यन्त कठिनाइ छ । कहिले भारतीय बजार हुँदै घुम्नुपर्छ, कहिले जोखिमपूर्ण डुङ्गा चढ्नुपर्छ, अनि मिर्चैया–ढल्केवर हुँदै घुम्दा आधा घण्टाको बाटो तीन घण्टासम्मको यात्रामा रूपान्तरण हुन्छ ।
पुल निर्माण वि.सं. २०६८ मा सुरु भएको थियो र तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरिएको थियो । तर ठेकेदारको लापरवाही र पटक पटक म्याद थपिँदा पनि काम पूरा हुन सकेको छैन । पहिलो ठेकेदार कालोसूचीमा परेपछि अर्को निर्माण कम्पनीले बाँकी काम थालेको थियो, तर करिब चार वर्षअघि आएको बाढीले पुल भासिएपछि काम पुन: रोकिएको हो ।
वि.सं. २०८२ असारसम्मको अन्तिम म्याद पनि गुज्रिएपछि अब पुल कहिले बन्ने भन्ने अनिश्चित बनेको छ । तराई–मधेसका जनजीवनका लागि ‘लाइफ लाइन’ मानिने यो पुलको निर्माण ढिलाइ र असमाप्त अवस्थाले स्थानीयमा निराशा र आक्रोश दुवै बढाएको छ ।




