सप्तरी । सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका १ का ३५ वर्षीय रोहितकुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुनकुमार चौधरी रहेका छन् ।
प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ १ गोबिन्द चोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरू ढुंगामुढा गरिरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रुपनीबाट टोली खटाइएको थियो ।
प्रहरीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गर्दा उनीहरूले प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेका थिए । घटनामा प्रहरी नायब निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् ।
तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ र उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने रञ्जितको सामान्य उपचार गरिएको छ । प्रहरीले घाइते दुबैको अवस्था सामान्य रहेको जनाएको छ ।
प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ परेकाहरूको नियन्त्रणमा राखी कानुनी प्रक्रिया अघि बढाइएको छ ।




