सर्लाही । मंगलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पुर्याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछि चिन्तित बनेका छन् ।
कोडैनाका किसानहरूका अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ ।
‘धान काटेर घरमा ल्याउने तयारीमा थियौँ, तर वर्षाले सबै भिजायो,’ एक किसानले दुखेसो पोख्दै भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेपछि ठूलो क्षति भयो ।’
जिल्लाका विभिन्न ठाउँहरू अहिले जलमग्न भएका छन् । लगातारको वर्षाले खेतबारीमा पानी थामिन नसक्दा धान भित्र्याउने काम रोकिएको किसानहरूले बताएका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाका अनुसार बेमौसमी वर्षाले विशेष गरी काटेर सुकाउन राखिएको धानमा बढी क्षति पुर्याएको छ ।
उनका अनुसार खेतमै डुबानमा परेका बाली पुनः प्रयोग गर्न कठिन हुने भएकाले किसानहरूलाई ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको छ ।




