रौतहट । रौतहट र धनुषामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ७ हस्पिटल चोकस्थित सडकमा “अन टेष्ट” लेखिएको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक २१ वर्षीय राहुल बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, धनुषाको मिथिला नगरपालिका ३ मधु पेट्रोलपम्प नजिकै बिहीबार बेलुकी अन्दाजी ६० वर्षीया एक महिलाको सवारी ठक्करबाट मृत्यु भएको छ ।
हाल नाम, थर र वतन नखुलेकी ती महिला सडकमा हिँडिरहेको बेला हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




