सप्तरी । बलात्कारको कसुरमा कारागार कार्यालय सप्तरीमा कैद भई बसिरहेका २४ वर्षीय शत्रुघन मुखियाले पीडित किशोरीसँग विवाह गरेका छन् । गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका मुखियाले केही सातापछि विवाह गरी पुन: कारागार फर्किएका हुन् ।
मुखिया सप्तरीको महादेवा गाउँपालिका ४ का बासिन्दा हुन् भने पीडित किशोरी उनकै छिमेकी हुन् । उनका अनुसार, भदौ २६ गते स्थानीय कमलामाई मन्दिरमा गाउँका भरभलादमीको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । विवाहपछि दम्पती केही समय किशोरीकै घरमा बस्दै आएका थिए ।
कारागार प्रशासनले २० असोजसम्म फरार रहेका कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न सुचना जारी गरेपछि मुखिया उक्त दिन नयाँ दुलहीलाई साथमा लिएर कारागार कार्यालय सप्तरीमा स्वेच्छाले आत्मसमर्पण गरेका थिए । कारागार कार्यालय सप्तरीका प्रमुख गंगालाल योगीका अनुसार, मुखियाले फरार भएपनि आत्मसमर्पण गर्नु सकारात्मक कदम हो, तर अझै करिब १० वर्ष कैद सजाय बाँकी छ ।
शत्रुघन दुई वर्षअघि सप्तरी जिल्ला अदालतले एक किशोरीको बलात्कारको आरोपमा १२ वर्ष कैद सजाय सुनाएका थिए । मुखियाले आफू र किशोरीबीच प्रेम सम्बन्ध रहेको दाबी गर्दै “हामी प्रेममा थियौं, जबरजस्ती करणी थिएन” भनेका छन् । पीडित किशोरी पनि डेढ महिनाकी गर्भवती भएकी छिन् ।
किशोरीका अनुसार, सुरुमा दुवैबीच प्रेम सम्बन्ध थियो, तर परिवारको अस्वीकारका कारण विवाद बढेको थियो । उनका बुबाले उजुरी गरेपछि शत्रुघन जेल चलान भएका थिए । अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाशमा पुनरावेदन प्रक्रियामा रहेको छ ।




