सिरहा । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा गरिएको आगजनीपछि स्थानीय प्रशासनिक सेवा सञ्चालनमा समस्या देखिएको छ ।
भवन पूर्ण रूपमा ध्वस्त भएपछि गाउँपालिकाले अस्थायी रूपमा औरही अस्पतालको माथिल्लो तलाबाट सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका अनुसार नयाँ प्रशासकीय भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालको भवनमै काम गर्नुपर्ने बाध्यता आएको हो ।
अध्यक्ष यादवले भने, “पुरानो भवन काम नलाग्ने गरी जलेको छ । अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर सेवा सञ्चालन गरिरहेका छौं । नयाँ भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न द्रुतगतिमा निर्माण कार्य भइरहेको छ ।”
सात करोड ९४ लाख १८ हजार ८९० रुपैयाँ लागतमा नयाँ प्रशासकीय भवन निर्माण भइरहेको अध्यक्ष यादवले जानकारी दिए । तर, गाउँपालिकाको कार्यालय अस्पताल भवनमा सरेपछि स्वास्थ्य सेवा प्रभावित भएको अस्पताल प्रमुख उपेन्द्र यादवले बताएका छन् ।
उनका अनुसार गाउँपालिकाका सेवाग्राहीको भीडभाडले बिरामीलाई उपचार सेवा दिन कठिनाइ भएको छ । उपेन्द्र यादवका अनुसार, “कोठा अभावका कारण बहिरङ्ग, प्रसूति र प्रशासनिक सेवा अवरुद्धजस्तै भएका छन् । अहिले १५ शय्या क्षमताको अस्पतालमा पाँच शय्या मात्रै सञ्चालनमा छन् ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले पनि कार्यालय सञ्चालनका लागि पर्याप्त ठाउँ नहुँदा दैनिक प्रशासनिक कार्यमा समस्या भइरहेको बताए ।
हाल अस्पतालको माथिल्लो तलामा गाउँपालिकाको प्रमुख प्रशासक, शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् भने न्यायिक समितिको हलमै अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष राखिएको छ ।
त्यस्तै, कृषि, राजस्व र पशु शाखा भने नजिकैको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनबाट सञ्चालन भइरहेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने भएकाले भीडभाड र कोठाको अभावले स्वास्थ्यकर्मीहरूलाई नियमित सेवा प्रवाह गर्न थप चुनौती सिर्जना भएको छ ।




