सिरहा । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बीमा अन्तर्गत नि:शुल्क औषधि वितरण ठप्प छ । बीमित बिरामीलाई सरकारले एक लाख रुपैयाँसम्मको उपचार सुविधा दिने व्यवस्था गरेको भएपनि औषधि नपाउँदा सेवाग्राही हैरान छन् ।
लहान नगरपालिका २२ की पार्वती चौधरी अस्पतालको औषधि कक्षमा गएर हात खाली फर्किनु परेको अनुभव सुनाउँछिन् । “डाक्टरले लेखिदिएको औषधि लिन गएकी थिएँ, तर मेडिकलमै थिएन,” उनले गुनासो गरिन् ।
त्यस्तै, लहान २३ का योगेन्द्र यादव भन्छन्, “नियमित औषधि खानुपर्ने बिरामीलाई पनि आफैं किनेर खानुपर्ने बाध्यता आएको छ ।” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झालका अनुसार, औषधि अभावको मूल कारण स्वास्थ्य बीमा दाबीको रकम नआउनु हो ।
“बिमाको रकम भुक्तानी नभएकाले नयाँ औषधि खरिद गर्न नसकिएको हो,” उनले स्पष्ट पारे । उनका अनुसार, बीमा अन्तर्गत करिब एक करोड रुपैयाँको भुक्तानी अझै बाँकी छ, जसका कारण औषधि खरिद रोकिएको छ ।
हाल अस्पतालले एक सय शय्या बराबरको सुविधा सञ्चालन गरिरहेको छ । तर केन्द्र र प्रदेश सरकारबाट पर्याप्त सहयोग नआएपछि र बीमा रकम रोकिएपछि अस्पताल सञ्चालनमै कठिनाइ परेको मेसु झालको भनाइ छ । “अस्पताल विकास समितिको प्रयासमा सेवा जेनतेन सञ्चालन गरिरहेका छौं,” उनले भने ।
उनका अनुसार, बीमाको रकम उपलब्ध हुनासाथ औषधि खरिद र वितरण पुन: सुरु गरिनेछ । हाल दैनिक तीन सयदेखि चार सय बिरामी उपचारका लागि आउने यस अस्पतालले औषधिबाहेकका अन्य सेवा भने नियमितरूपमा दिइरहेको छ ।




