जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक तनाव चर्किएको छ । नवनियुक्त मुख्यमन्त्री सरोज यादवको विरोधमा सात दलका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
मुख्यमन्त्री कार्यालयमा तोडफोडसँगै सातै दलका कार्यकर्ताहरूले मुख्यमन्त्री यादवविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘गैरसंवैधानिक नियुक्ति खारेज गर’, ‘न्यायोचित प्रक्रिया अपनाऊ’ जस्ता नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री यादव कार्यालयमा आउने जानकारी पाएपछि सातै दलका नेता र कार्यकर्ताहरू कार्यालय अगाडि जम्मा भई प्रवेशमा अवरोध गर्न प्रयास गरेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरिएको जनाइएको छ ।
प्रदेश राजनीतिमा अहिले सत्ता समीकरण परिवर्तनपछि मुख्यमन्त्री नियुक्ति विवादित बनेको छ । विरोधी दलहरूले बहुमतको दाबी गर्ने अवस्थामै यादवलाई मुख्यमन्त्री बनाइएको भन्दै नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका छन् ।




