बारा । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका १६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट ना ४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर १ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो ।
हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । हात्तीले अन्य केहि सवारी साधनमा पनि क्षति गर्नुका साथै राजमार्ग नै अवरुद्व गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हात्ती अचानक सडकमा आएर सवारी साधनहरूमा आक्रमण गरेको उनीहरुको भनाइ छ । हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




