पर्सा । वीरगन्जमा बुधबार दिउँसो भएको चक्कु प्रहार घटनामा एक महिला घाइते भएकी छन् । वीरगन्ज १ चित्रगुप्त टोलमा डेरा गरी बस्ने ४२ वर्षीया नुतन कर्णमाथि छिमेकी ३२ वर्षीया खुशी वर्णवालले चक्कु प्रहार गरेकी प्रहरीले जनाएको छ ।
घटना दिउँसो करिब २ बजेतिर स्थानीय रामाशंकर मालीको घरमा भएको हो । तरकारी काट्ने चक्कुले प्रहार हुँदा कर्ण घाइते भएकी हुन् । उनी हाल नारायणी अस्पतालमा उपचाररत छन् र उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुई महिलाबीच केही विवादपछि घटना भएको अनुमान गरिएको छ । चक्कु प्रहार गरेकी वर्णवाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।




