जनकपुरधाम । भारतको बिहार राज्यमा विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएपछि नेपाल–भारत सीमानाका पुनः खुला भएका छन् । मंगलबार मतदान सकिएलगत्तै साँझ ६ बजेदेखि आवागमन सामान्य रूपमा सुरु भएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।
बिहारमा भएको निर्वाचनका कारण मधेस प्रदेशसँग जोडिएका सीमानाका कार्तिक २२ गते साँझदेखि बन्द गरिएको थियो । शान्ति सुरक्षा सुदृढीकरणका लागि मधेस प्रदेशका आठै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा सीमानाका बन्द गर्ने निर्णय गरेका थिए ।
मंगलबार दोस्रो चरणको मतदान सकिएपछि परिस्थिती सामान्य बनेसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका नाका पुनः सञ्चालनमा आएका हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार साँझदेखि नाकाहरू खुल्नासाथ आवागमन सहज बनेको छ ।
यस्तै, सीमानाका बन्दसँगै रोकिएको नेपाल–भारत रेल सेवा पनि पुनः सञ्चालनमा आएको छ । महोत्तरीको बिजलपुराबाट भारतको जयनगरसम्म चल्ने यात्रुवाहक रेल मंगलबार साँझदेखि पुन: नियमित समयमा सञ्चालनमा आएको जनाइएको छ ।
प्रशासनका अनुसार अब प्रदेशका सबै नाकामा आवागमन र व्यापारिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन हुँदै जाने अपेक्षा गरिएको छ ।




