सप्तरी । राजविराज नगरपालिका १६ बोरियास्थित सडकमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । राजविराजबाट विष्णुपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ७२५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका २ का ६४ वर्षीय बिन्देश्वर दास तत्मालाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




