सर्लाही । चन्द्रनगर गाउँपालिका ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक महत्व बोकेको नाढीमन ताल हाल पूर्ण रूपमा सुनसान बनेको छ । पर्यटनको सम्भावना रहेपनि लामो समयदेखि अलपत्र पर्दा तालमा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटक आउन छाडेका छन् । एक समय दैनिक हजारौँको आम्दानी हुने स्थानीय व्यवसाय अहिले ध्वस्त अवस्थामा पुगेका छन् ।
देशका उत्कृष्ट १०० भ्रमण स्थलमध्ये सूचीकृत यस क्षेत्रमा पर्यटक नआएपछि ताल नजिक सञ्चालनमा रहेका पसल, होटल र अन्य व्यवसाय क्रमशः बन्द हुँदै गएका छन् । ताल परिसरमा दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेका व्यवसायहरू राम्रो आय हुने ठाउँबाट घाटामै सीमित बन्न पुगेका छन् ।
संरचना जीर्ण, सडक भत्किँदा पर्यटन ठप्प
२०७२ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएका संरचना जीर्ण भएपछि तालको अवस्था अव्यवस्थित हुँदै गयो । २०७३ सालमा आएको बाढीले मलङ्गवाबाट तालतर्फ जाने सडकका धेरै भाग बगाएपछि समस्या झनै बढ्यो ।
नेपाल–भारत सीमास्थित सोनवर्षा बजार र पूर्वपश्चिम राजमार्ग दुवैबाट झन्डै १२–१२ किलोमिटर दूरीमा पर्ने तालसम्म पुग्ने मार्ग अहिले पनि कच्ची र जोखिमपूर्ण छन् । व्यवस्थित सडक अभावकै कारण भारतबाट आउने पर्यटक पूर्ण रूपमा हराएको स्थानीयको भनाइ छ ।
अव्यवस्थापन र बजेट अभाव
ताल व्यवस्थापन, संरचनाको मर्मत तथा प्रचार प्रसारमा निरन्तर अव्यवस्थापन भएपछि आन्तरिक पर्यटक पनि घट्दै गए । स्थानीय तहमा पर्याप्त बजेट नहुँदासम्म सम्बन्धित प्रदेश र सङ्घ सरकारले पनि केवल सूचीकरणमै सीमित रहेर वास्तविक विकासमा ध्यान नदिएको आलोचना छ ।
प्राकृतिक नाढीमन ताल छिमेकी पालिकामा निर्माण गरिएको कृत्रिम तालभन्दा पनि ओझेलमा परेको स्थानीयको गुनासो छ । ताल व्यवस्थित भए स्थानीय स्तरमै सयौँ मानिसले रोजगारी पाउने र पर्यटनले गाउँको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास राखिन्छ ।
अतिक्रमण, राजनीतिक खिचातानी र राजस्वमा गिरावट
पहिले करिब ५२ बिघा रहेको ताल अतिक्रमणका कारण घटेर अहिले करिब ३५ बिघा मात्रै बाँकी रहेको तथ्य स्थानीयले उल्लेख गर्छन् ।
माछा पालनका लागि ठेक्का प्रक्रियामा देखिएको राजनीतिक खिचातानीका कारण तालको व्यवस्थापनमा समस्या बढेको र आन्तरिक राजस्वमा समेत ठूलो कमी आएको बताइन्छ ।
एक पटक ठेकावालले पोखरी सुकाएर माछा उठाएपछि ताल गौचरजस्तो बन्न पुगेको र त्यसले पर्यटकमाथि नराम्रो छाप परेको पनि उल्लेख गरिएको छ ।
विकासका पहल जारी
स्थानीय तहले तलाउँदै गएको पर्यटन गतिविधिलाई पुनः जीवन दिन वृक्षरोपण, सरसफाइ अभियान र विभिन्न संरचनाको सुधारका लागि प्रारम्भिक तयारी गरेको जनाएको छ । साथै तालको इतिहासको अध्ययन, दस्तावेजीकरण र मिथकीय दृष्टिले यसको धार्मिक महत्व प्रमाणित गर्ने कार्य पनि अघि बढाइएको छ ।
प्रत्येक वर्ष लाग्ने धार्मिक मेला यस क्षेत्रको मुख्य आकर्षण रहेको छ जहाँ नेपालसँगै भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । तालमा सञ्चालनको उद्देश्यले ल्याइएका पाइडल तथा मोटरबोट पर्यटकको अभावमा ताल किनारमै थन्किएका छन् ।
नाढीमन ताललाई पुनर्जीवित गर्न दीर्घकालीन योजना, पर्याप्त लगानी, सडक विकास, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी प्रचार प्रसार अपरिहार्य रहेको स्थानीयको जोड छ ।




