सिरहा । मधेशको प्रमुख यातायात मार्ग मानिने हुलाकी सडक अन्तर्गत कमला र सहजा नदीमा पुल निर्माण नभएको विरोधमा सिरहाका स्थानीयवासीले आइतबार अनौठो ढंगले आक्रोश प्रकट गरेका छन् । हुलाकी सडक संघर्ष समितिको अगुवाइमा सदरमुकाममा ‘सरकारको अर्थी’ बोकेर प्रदर्शन गरिएको हो ।
स्थानीयका अनुसार कमला र सहजा नदीमा पुल नबन्दा वर्षौंदेखि सवारी सुविधा, स्वास्थ्य सेवा, शिक्षा तथा अत्यावश्यक आवागमनमा अभूतपूर्व समस्या खेप्नुपरेको छ । तर, सरकारले विषयलाई बेवास्ता गरिरहेको उनीहरूको आरोप छ ।
अर्थी जुलुसका क्रममा प्रदर्शनकारी र सुरक्षा पक्षबीच केही बेर वादविवाद र नोकझोक पनि भएको स्थानीयले बताए । आन्दोलनकारीले सरकारले माग संबोधन नगरे थप सशक्त र निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
संघर्ष समितिले कमला र सहजा नदीमा छिटो छिटो पुल निर्माणको प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिँदै मधेशका हजारौं जनताको दैनिक जीवनलाई सहज बनाउन आग्रह गरेको छ ।




