राजविराज । कार्यालय प्रमुखको दरबन्दीमा ७ औँ तहका कर्मचारी नियुक्त हुनुपर्ने माग राख्दै जेन–जी अभियानमा संलग्न युवाहरूले आइतबार नेपाल खानेपानी संस्थान शाखा राजविराजमा तालाबन्दी गरेका छन् । संस्थानमा कार्यरत ५ औँ तहका कर्मचारीलाई फेरि निमित्त प्रमुखको जिम्मेवारी दिइएपछि युवाहरू आन्दोलित बनेका हुन् ।
यसअघि ८ औँ तहका कार्यालय प्रमुखको २०८१ भदौमा सरुवापछि ५ औँ तहका राजाराम यादवले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । तर हाल यादवलाई पर्साको वीरगञ्ज सरुवा गरिँदै सोही तहका दिपेन्द्र देवलाई पुन: निमित्त प्रमुख बनाइएपछि असन्तुष्टि चुलिएको हो ।
गत शुक्रबार नै युवाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत खानेपानी मन्त्रालयका सचिव र संस्थानका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै दरबन्दीअनुसार ७ औँ तहका कार्यालय प्रमुख पठाउन आग्रह गरेका थिए । माग सुनुवाइ नभएपछि आइतबार उनीहरूले कार्यालयको मुख्य गेटमा ताला लगाएका छन् ।
तालाबन्दीका कारण उत्पादन तथा पानी वितरणजस्ता सेवा नियमित चलिरहेको भए पनि प्रशासनिक कार्य भने दिउँसो २ बजेदेखि अवरुद्ध भएको सहायक लेखा अधिकृत अजय बरियैत (यादव) ले जानकारी दिए ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ताला खोल्न र समाधान खोज्न युवाहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन् । युवाहरूले ‘दरबन्दीअनुसार कर्मचारी पठाउने सरकारी निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने’ चेतावनी दिएका छन् ।




