सप्तरी । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रूपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ । प्रहरीले वडा नं ९ इनर्वा चौकस्थित धर्मेन्द्र जैनको पुरानो राइसमिल गोदाममा लुकाइएको अवस्थामा ५० किलो तौलका १३४ बोरा डिएपी मल फेला पारेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार उक्त गोदामबाट मल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार, ४५ वर्षीय धर्मेन्द्र दासले उक्त गोदाम भाडामा लिई मल अवैध रूपमा लुकाएर राखेको पाइएको छ । फेला परेको सबै मललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




