रौतहट । रौतहटको माधवनारायण नगरपालिका ४ बिशुनपुरवा टोलकी २० वर्षीय रुबिना यादव घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार उनका श्रीमान् रुपेश राय यादवले मंगलबार साँझ करिब ५:३० बजे रुबिनालाई सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेका थिए ।
प्रहरी प्रवक्ता बस्यालका अनुसार घटनाको समयमा घरका अन्य सदस्यहरू खेतमा काम गर्न गएका थिए । श्रीमानले देखेपछि स्थानीयको सहयोगमा पासो खोलिए पनि रुबिनाको मृत्यु भइसकेको पुष्टि भएको थियो । प्रहरी पुग्नु अघि नै स्थानीयहरुले शव पासोबाट झिकेर घरको प्यासेजमा राखिदिएका थिए ।
घटना बारे इलाका प्रहरी कार्यालय गरुडाले आवश्यक अनुसन्धान अघि बढाएको र पोष्टमार्टम तथा अन्य प्रक्रियासहित अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




