बारा । बाराको कलैया स्थित यातायात व्यवस्था कार्यालय बुधबार साँझ अकस्मात् तनावग्रस्त बनेपछि केही समय प्रशासनिक कार्य अवरुद्ध भएको छ । साँझ करिब साढे पाँच बजे कार्यालय प्रमुख अविन्द्र दास र खरिदार सत्यनारायण साह बीच सुरु भएको विवाद हालाहालमा परिणत भएको कार्यालय स्रोतले जनाएको छ ।
झडपका क्रममा खरिदार साहको अनुहारमा चोट लागेको बताइएको छ । कार्यालय प्रमुख दासको समेत अनुहारमा चोट पटक लागेको उल्लेख गरिएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट पुगेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरी उपरीक्षक नागेन्द्र कुवरले कार्यालयमै विवाद भएको सूचना पाएपछि दुवै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको पुष्टि गरे । उनले घटनाको वास्तविक कारण बुझ्न अनुसन्धान जारी रहेको बताए ।
सरकारी सेवा प्रवाहका लागि महत्वपूर्ण मानिने कार्यालयभित्र नै कर्मचारीबीच भएको झडपले संस्थाको आन्तरिक व्यवस्थापन, कार्यशैली र अनुशासन बारे प्रश्न उठेको छ । अनुसन्धान सम्पन्न भएपछि घटनाको स्पष्ट तथ्य बाहिर आउने प्रहरीको भनाइ छ ।




