सिरहा । कल्याणपुर नगरपालिका हाल प्रशासनिक नेतृत्वविहीनजस्तै बनेको छ । प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव कमलबहादुर थापा मंसिर १४ यता कार्यालयबाट सम्पर्कविहीन भएपछि नगरको नियमित सेवा प्रवाह ठप्पजस्तै भएको स्थानीयवासी बताउँछन् ।
थापा न त कार्यालयमा हाजिर भए, न कुनै प्रकारको जानकारी नै कार्यवाहक नेतृत्वलाई दिए । ‘उहाँ १४ गतेदेखि कार्यालय आउनुभएको छैन,’ कार्यवाहक नगर प्रमुख रेखा यादवले भनिन्, ‘जाँदा कम्तीमा जानकारी दिनुपर्थ्यो, तर उहाँले एक शब्द पनि भन्नुभएन ।’
स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यालय प्रमुख अनुपस्थित हुँदा तुरुन्तै निमित्त तोक्नुपर्ने व्यवस्था भएपनि थापाले सो प्रक्रियाको पालना नगरी कार्यालय अनुपस्थित भएको नगरपालिकाले जनाएको छ ।
यस कारण दैनिक काम लिएर आउने नागरिकहरू दैलोमै फर्किन बाध्य भएको स्थानीय किशोरी यादव बताउँछिन् । उनका अनुसार, ‘उहाँ विरलै कार्यालयमा देखिनुहुन्छ । अहिले त पूरा नगर नै प्रमुखविहीन जस्तो छ ।’
स्थिति गम्भीर बन्दै गएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक रूपमा पत्र पठाएको छ । तर कार्यालय प्रमुखको अवस्था बारे सम्बद्ध निकायले अहिलेसम्म कुनै जानकारी नदिएको नगरपालिकाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि थापा सम्पर्कमा नरहेको पुष्टि गरेका छन् । ‘उहाँ हाम्रो सम्पर्कमा पनि हुनुहुन्न,’ बरालले भने, ‘कामकाज प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था खोज्दैछौं ।’
प्रमुख प्रशासकीय अधिकृतको लामो अनुपस्थितिले कल्याणपुरमा प्रशासनिक शून्यता सिर्जना भएको छ, जसका कारण सेवाग्राहीहरू दिनदिनै निराश भएर फर्किन बाध्य भएका छन् ।




