वीरगंज । सरकारी अस्पतालहरूमा औषधि खरीदका नाममा नियोजित रूपमा लाखौँ रुपैयाँको घोटाला भइरहेको खुलासा भएको छ । अस्पताल प्रमुख, लेखापाल र स्टोरकीपरको मिलेमतोमा औषधि खरीद प्रक्रियामा व्यापक अनियमितता हुने गरेको स्रोतहरूले दाबी गरेका छन् ।
विगत धेरै वर्षदेखि नारायणी अस्पतालमा हुँदै आएको औषधि काण्ड बारे अहिलेसम्म सम्बन्धित निकायले कुनै प्रभावकारी छानबीन नगरेको पनि आरोप छ । अस्पताल प्रशासनले देखावटी रूपमा ठेक्का प्रक्रिया पूरा गरेजस्तो गर्ने तर ठेकेदारबाट आवश्यक औषधि नलिने, बरु अर्को आपूर्तिकर्ताबाट महँगो दररेटमा कोटेशनमार्फत औषधि खरीद गरी ठूलो कमिशन खाने गरेको पाइएको छ ।
सङ्घ सरकार मातहतको नारायणी अस्पताल र प्रदेश सरकार मातहतको कलैया प्रादेशिक अस्पतालमा मात्रै यस वर्ष औषधि खरीदका लागि करोडौँ रुपैयाँको ठेक्का लगाइएको छ । तर ठेक्का लगाए पनि ठेकेदारबाट न्यून मात्रामा औषधि लिइने, बाँकी अधिकांश औषधि महँगो दररेटका कोटेशन मार्फत खरीद गरिने प्रचलन रहेको छ ।
नारायणी अस्पतालमा बीमा र फार्मेसी प्रयोजनका लागि मात्रै रु ६ करोड भन्दा बढीको औषधि खरीदका लागि ठेक्का गरिएको छ भने कलैया अस्पतालमा रु ४ करोडभन्दा बढीको ठेक्का लगाइएको छ । तर दुबै अस्पतालको औषधि खरीद सूची हेर्दा ठेक्का प्रक्रिया भन्दा कोटेशनमार्फत खरिद धेरै गरिएको देखिन्छ ।
स्रोतका अनुसार ठेक्कामार्फत औषधि खरीद गर्दा करिब १० प्रतिशत कमिशन पाइने भएपनि सोही औषधि कोटेशन मार्फत महँगो बिलमा खरीद गर्दा ४० प्रतिशतसम्म कमिशन आउने हुँदा मेसु, लेखापाल र स्टोरकीपरको प्रत्यक्ष संलग्नतामा अनियमितता हुने गरेको छ ।
बीमा र फार्मेसीबाहेक पनि सम्बन्धित अस्पतालहरूले डायलासिस, आइसियू, एनआइसियू, आमा सुरक्षा कार्यक्रम, एक्सरे तथा भिडियो एक्सरे लगायतका विभागका लागि हरेक वर्ष करोडौँ मूल्यका औषधि र सामाग्री खरीद गर्दछन् ।
यी सामाग्रीको खरीदमा पनि ४० प्रतिशत कमिशनको लोभमा ठेक्का प्रक्रियालाई पन्छाएर महँगो कोटेशनमार्फत घोटाला हुने गरेको स्रोतहरूको दाबी छ । आर्थिक अनियमितताको यस्तो दीर्घकालीन प्रथाले सेवा प्रभावकारितामा गम्भीर असर पारेको भन्दै स्थानीयवासी र कर्मचारीहरूले छानबीन तथा कडा कारबाहीको माग गरेका छन् ।




