रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन् । उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो ।
यसअघि गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारी साधनहरूमा व्यापक क्षति पुर्याइएको थियो ।




