सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ का नथुनी मुखियाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा आत्मदाह प्रयास गरेका छन् । मुखियाले गरिमा विकास बैँकले घर र जग्गा लिलाम गरेको भन्दै आत्मदाह गर्न खोजेका थिए ।
प्रहरीका अनुसार, ऋणी र बैँक पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो । छलफलको क्रममा मुखियाले गेटभित्र पसेर पेट्रोल छर्किएर लाइटर निकाल्न खोज्दा प्रहरीले उनलाई रोकेको हो ।
मुखियाले “मलाई न्याय दिनुस्, म आगो लगाउँछु” भन्दै आत्मदाहको प्रयास गरेका थिए । मुखियाले बैँकले ऋण दिने भनी झुक्याएर जग्गाधनी प्रमाणपत्र र अन्य कागजात लिएर घर जग्गा लिलाम गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार, “ऋणी र बैँकबीचको विवादका कारण हामीले दुबै पक्षलाई छलफलका लागि प्रहरी कार्यालय बोलाएका थियौं । छलफलको क्रममा ऋणीले पेट्रोल ल्याएर आत्मदाह गर्न खोजेका थिए । उनलाई सम्झाई बुझाई समितिको जिम्मा लगाइएको छ ।”
प्रहरीका अनुसार, मुखियालाई नियन्त्रणमा राखेर शान्ति स्थापना गरिएको छ र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।




