रौतहट । रौतहटको गुजरा नगरपालिका ४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराज समेतका फरार प्रतिवादीलाई सरकारी जग्गा नक्कली कागजातको आधारमा किर्ते गरी लालपुर्जा बनाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
प्रहरीका अनुसार, शेख मेराजले नेपाल सरकारको नाममा रहेका ११ विगहा ७ कत्ठा १५ धुर जग्गाहरूमा किर्ते कागजात बनाएर लालपुर्जा खडा गरेका थिए । यस लालपुर्जाको आधारमा उनले सम्पत्ती, मालपोत र भुमिकर रसिद तथा चार किला प्रमाणित गराएर अन्य अवैध काममा संलग्न भएका थिए ।
रौतहट प्रहरीले गत कार्तिक २७ गते शेख मेराजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनका गैरकानुनी कार्यको पर्दाफास भएपछि अन्य संलग्न प्रतिवादीको खोजी पनि तीव्र बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार, सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरिएको अभियोजन पत्रको निर्णय अनुसार शेख मेराजलाई गौर कारागार पुर्पक्षका लागि चलान गरिएको हो ।
उनले भने, “नेपाल प्रहरी केन्द्रीय कार्यालय अनुसन्धान व्यूरो, महराजगञ्ज, काठमाडौंको पत्र र गहन अनुसन्धानको आधारमा प्रमुख दोषी शेख मेराजलाई विशेष सूचनाका आधारमा पक्राउ गरी अदालतमा पेश गरियो । अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।”




