बीबीसी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ । नयाँ भेरिअन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएका छन् । उनीहरूले अहिले प्रयोगमा आएका कोरोना भाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुन सक्ने पनि बताएका छन् । पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरू यस बारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन् । यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन् ।
बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक भएको बताएका छन् । उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एक जना वैज्ञानिकले यसलाई “भयानक” भनेर व्याख्या गरेको बताए । अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन् ।
नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन् । अहिले तत्कालका लागि नयाँ भेरिअन्टको फैलावट बारे केही प्रश्नहरू छन्- जस्तो कि खोपले यसलाई कति सुरक्षा प्रदान गर्छ र यस बारे के गर्न सकिन्छ ? यस बारे थुप्रै अनुमानहरू गरिएका छन् तर हामीसँग थोरैमात्रै स्पष्ट जवाफ छन् ।
त्यसो भए, हामीलाई के थाहा छ ?
यो भेरिअन्ट B.1.1.529 हो र यसलाई ग्रीक नाम अल्फा र डेल्टा भेरिअन्टजस्तै विश्व स्वास्थ्य सङ्गठनले कुनै कोड नाम शुक्रवार दिने ठानिएको छ । यो आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ । दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो “धेरै भिन्न” र “उत्परिवर्तनको अस्वाभाविक समूह” देखिएको बताए ।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिनमा भएको बताए । धेरै खोपले स्पाइक प्रोटिन भनिने शरिरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ ।
धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन् । ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो । तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ । त्यसको अर्थ सुरुमा देखिएको भाइरसविरुद्ध बनेका खोप नयाँ देखिएको भाइरसको प्रकारका लागि प्रभावकारी नहुन पनि सक्छन् ।




