काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारस्वरूप “भाइमसला” दिने प्रचलन छ । विशेष गरी तिहारको भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइसकेपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसला दिने चलन रहेको छ ।
भाइमसलामा समावेश गरिने ओखर, नरिवल, बदाम, सुपारी, काजु जस्ता खाद्य पदार्थ पोषणको खजाना हुन् । विशेष गरी जाडोयाममा शरीरलाई आवश्यक पोषण पुर्याउन यी पदार्थहरू उपयोगी मानिन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
ओखरले एन्टि-अक्सिडेन्टको स्रोतको रूपमा काम गर्छ, जसले शरीरलाई संक्रमणबाट बचाउनुका साथै विभिन्न रोगहरूसँग लड्न सहयोग पुर्याउँछ । दाजुभाइलाई दिइने यी मसला स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छन् ।
चिकित्सकहरूका अनुसार, तिहारमा प्रयोग हुने भाइमसला शरीरको विकासमा सघाउ पुर्याउने र रोग प्रतिरोध क्षमता बढाउनेमा प्रभावकारी छ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।
ओखर
तिहारमा ओखरको प्रयोग विशेष हुन्छ । यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ओमेगा-३ फ्याटी एसिडले भरिपूर्ण ओखरले कपाल तथा छालासम्बन्धी समस्याबाट राहत दिन्छ र चाउरीपन कम गर्छ ।
फाइबरले पाचन प्रक्रिया सुदृढ पार्छ, र यसको नियमित सेवनले कब्जियत हटाउन मद्दत गर्छ । ओखरले मुटुका मांसपेशीलाई मजबुत बनाउनुका साथै दम, अर्थराइटिस, क्यान्सरजस्ता गम्भीर समस्यासँग लड्न पनि सहयोग पुर्याउँछ ।
काजु
काजुमा पाइने ओलिक एसिडले मुटु स्वस्थ राख्छ । यसले इन्सुलिनको मात्रालाई सन्तुलित राख्दै डायबेटिज नियन्त्रणमा मद्दत गर्छ । काजुमा हुने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, र कपरले हड्डी, दाँत बलियो बनाउन र शरीरका प्रणालीलाई चुस्त राख्न सहयोग पुर्याउँछन् ।
किसमिस
किसमिसलाई आइरनको स्रोत मानिन्छ, जसले रक्तअल्पता हटाउन र कब्जियत कम गर्न सहयोग गर्छ । यसमा आइरन, पोटासियम, क्याल्सियम, र म्याग्नेसियम पर्याप्त मात्रामा पाइन्छ, जसले मुटुरोगीहरूलाई लाभ पुर्याउँछ । किसमिसले कोलेस्ट्रोल घटाउँछ र छालामा चमक ल्याउँछ ।
बदाम
भाइमसलामा बदाम पनि महत्वपूर्ण मानिन्छ । वनस्पतिजन्य प्रोटिनको राम्रो स्रोतको रूपमा बदामले रक्तकोषको विकास र स्मरणशक्ति बढाउन सघाउँछ । यसले मधुमेहको मात्रा घटाउँछ र मुटुरोग नियन्त्रणमा मद्दत गर्छ ।
पेस्ता
पेस्तामा भिटामिन ई हुन्छ, जसले छालालाई युभी ड्यामेजबाट बचाउँछ र छालाको क्यान्सर र चाउरीपन कम गर्न मद्दत गर्छ । यसमा रहेको एन्टि-ऑक्सिडेन्टले स्वास्थ्यका लागि लाभदायक फाइबर पनि प्रदान गर्छ । नियमित सेवनले मस्तिष्क तेज बनाउँछ र हृदयघातको जोखिम घटाउँछ ।
यसैगरी मिठाइ, सुपारी, हाडे लगायतका परिकार पनि भाइमसलामा समावेश गरिन्छ । नरिवल पनि भाइटीकामा दिने उपहारमा सामेल हुन्छ । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ साथै क्याल्सियम र फलाम पर्याप्त मात्रामा हुन्छ, जसले शरीरको पाचन प्रणाली, मूत्राशय र रक्तविकार नाशमा मद्दत गर्छ ।






