काठमाडौं । लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो । साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे । तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो । वडाले राहतकै लागि भनेर खरिद गरेको उक्त खाद्यान्न स्टोर गरेर राखेको थियो ।
वडाको स्टोरमा राखिएको खाद्यान्न विस्तारै कुहिन थाल्यो । गाउँमा सर्वसाधारण भोकै भए । तर केही परिमाणको खाद्यान्न नष्ट गरियो । लकडाउनमा वितरण गर्ने भनेर खरिद गरिएको बोराका बोरा चामल अहिले पनि स्टोरमै थन्किएको छ ।
जिल्लाको गढवा गाउँपालिका–५ ले मजदुरी गरेर छाक टार्नका लागि लकडाउन सुरु भएलगत्तै एक चरणमा राहत वितरण गर्यो । दोस्रो चरणमा यो वडाले पुनः राहत वितरण गर्नका लागि चामल, दाल, नुन, तेल खरिद गर्यो ।
जापानको चामलसहित खाद्यान्न खरिद गरेको वडाले दोस्रो चरणमा उक्त राहत वितरण गरेन । वडामा राहतका लागि माग गर्न जानेको भिड नै हुन्थ्यो । वडाध्यक्ष प्रकाश भण्डारीका अनुसार पहिलो चरणमा स्थानीयबाट धेरै माग भएपछि दोस्रो चरणमा राहत वितरण गर्न सकिएन ।
‘पहिलो चरणमा राहत बाँड्दा धेरै समस्या भयो, एकै परिवारबाट चार/पाँच जना आउन थाले,’ उनले भने, ‘त्यसकारण हामीलाई थप राहत बाड्न समस्या भयो ।’ मजदुरी बन्द भएर साँझ बिहान हातमुख जोड्नै समस्या भएका परिवार राहात माग्दै वडा कार्यालय नियमित पुगे ।
‘वडा कार्यालयले राहत बाड्ने भनेर चामल, दाल, नुन लगायत खाद्यान्न खरिद गरेर त ल्यायो, तर हामीहरूलाई दिएन,’ एक स्थानीयले भने, ‘हामीहरूकै लागि भनेर ल्याइएको खाद्यान्न नदिँदा भोकै बस्नु पर्ने अवस्था आयो यो भन्दा पीडा हाम्रो लागि अरू के होला ?’
वडाध्यक्ष भण्डारीका अनुसार खाद्यान्नका लागि धेरै बढी माग आउने भएका कारण गाउँपालिकाले नै खाद्यान्न वितरण रोक्न भनेको थियो । ‘राहत वितरणमा समस्या छ भने नबाड्नुस् भनेर गाउँपालिकालेनै भनेको थियो,’ उनले भने, ‘त्यसै कारण राहात वितरणको काम रोकेका हौं ।’
गत वैशाखमा खरिद गरेर ल्याइएको उक्त खाद्यान्न वडा कार्यालयकै स्टोर कक्षमा राखियो । करिब वर्षदिन पुग्नै लाग्दा चामलमा किरा पर्न थाले । दालसहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘२० किलो जति दालमा किरा पर्न थाले, खान लायक नहुने भएपछि नष्ट गरिएको हो,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने, तेल पनि केही नष्ट गरिएको छ ।’
वर्षदिन पहिले राहतका लागि खरिद भएको करिब ५० बोरा (प्रतिबोरा २५ किलो) चामल भने अहिले पनि वडा कार्यालयमै स्टोर गरेर राखिएको छ । एक वर्ष अगाडि खरिद गरेर स्टोरमा राखिएको चामल अब विपदमा वडावासीलाई उपलब्ध गराउनका लागि राखिएको वडाध्यक्ष भण्डारीले बताए ।
एक वर्ष अघि खरिद गरिएको चामल खान योग्य हुन्छ त ? नागरिकको प्रश्नमा वडा कार्यालयका प्राविधिक आचार्यले भने ‘खोइ खान लायक भएरै त होला, केही दिनअघि एक जनाले दुई बोरा चामल लिएर जानुभयो ।’
उनका अनुसार एक गरिब परिवारका सदस्य सहयोग माग्न वडा कार्यालय पुगेका थिए । वडाले सोही एक वर्ष पहिले खरिद गरेको चामल दिएर पठायो । वडाध्यक्ष भण्डारीले भने उक्त चामल जापानको भएकाले केही नहुने दाबी गर्छन् ।
उनका अनुसार यो चामल जहिले पनि खान योग्य नै हुन्छ । वडामा कुनै विपद् आएको खण्डमा पीडितलाई अब सोही चामल वितरण गर्ने योजनामा रहेको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।






