काठमाडौं । बुधबार राति ग्यास लिकेज भएर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हरिकिसुन खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको हो ।
आगलागीबाट चार घर जलेर नष्ट हुनुका साथै हरिकिसुन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट राति नै राजविराज लगिएको छ ।
खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भएर खंगसहित रामचन्द्र खंग, नकछेदी खंगको चार घर जलेर नष्ट हुँदा घरभित्र रहेका सम्पूर्ण लत्ता कपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमान नगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।






