सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तीयार अलीमाथी भएको सांघातिक आक्रमणको विरुद्धमा कमलामाई मिडिया प्रालीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रकार अलीमाथी फागुन २७ गते साँझ सांघातिक आक्रमण भएको थियो । पत्रकार अलीको अहिले काठमाडौंमा उपचार भइ रहेको उनको परिवारजनले बताएका छन् । टाउँकोमा रगत जमेको भनी जनकपुरबाट पत्रकार अलीलाई बिहीबार काठमाडौं लगिएको पत्रकार अनवल अहमदले जानकारी दिए ।
समाचार सम्प्रेषण लगायतका विषयलाई लिएर पछिल्लो समय सर्लाहीका पत्रकारहरुमाथी सांघातिक आक्रमण तथा धम्की आउने गरेको भन्दै कमलामाई मिडिया प्रालीका अध्यक्ष एवम् राष्ट्रिय समाचार समिति सर्लाही जिल्ला समाचारदाता पत्रकार शंखर पहाडीको नेतृत्वको पत्रकारको टोलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यलयमा पुगेर प्रमुख जिल्ला अधिकारी तामाङ्गलाई पत्र बुझाएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाही, नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई ध्यानाकर्षण पत्र बुझाएको कमलामाई मिडिया प्रालीका अध्यक्ष पहाडीले बताउनु भयो ।
स्थानिय निकाय लगायतका स्थानमा समाचार सम्प्रेषणको विषयलाई लिएर जिल्लाका पत्रकारहरु माथी भएका आक्रमण तथा धम्की प्रति जिल्लाको सुरक्षा संयन्त्रको ध्यानाकर्षण गराउनुको साथै पत्रकार अलीमाथी सांघातिक आक्रमण गर्ने जोसुकै भएपनि नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्न पत्रकारहरुले माग गरेका छन् ।
घटना भएको एक हप्ता वितिसकेको भएपनि घटनाको दोषी पक्राउ नपर्नु आपतिको विषय भएको भन्दै पत्रकारहरुले पटक पटक चिन्ता र चासो व्यक्त गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङ्गले आफुले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्रचार गरि दोषीलाई यथासक्य चाँडो पक्राउ गरि कानुनी कार्बाही गर्ने बताउनु भयो ।
उहाँले आफु सर्लाहीमा रहँदा सम्म जिल्लामा गैर कानुनी गतिविधिहरु हुन नदिनुको साथै अराजक गतिविधि गर्नेहरुलाई कानुनी दायरमा ल्याउने बताउनु भयो । यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले पनि दोषीको खोजी कार्य जारी रहेको बताउनु भयो ।






