सर्लाही । दुई जना पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल चालक भाग्न खोज्दा चालकले ज्यान गुमाउन पुगेका छन् । आइतबार दिउँसो ४ बजेतिर बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७७१३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा दुखद घटना हुन पुगेको हो ।
भाग्नेक्रममा सडक छेउमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा न १० शान्तिटोल बस्ने अच्छेलाल सिंह दनुवारका छोरा ३५ वर्षीय मुकेश सिंह दनुवारको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदा जिल्ला अस्पताल मलंगवाले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनु भयो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका वडा न ९ का ७० वर्षीय महेन्द्र साह र सोही ठाउँ बस्ने सरोज कुमार महतोकी छोरी १५ वर्षकी रन्जना कुमारी महतो घाईते भएकी छन् ।
महेन्द्र साहको निधार र नाकमा चोट लागेको थियो । घाइते साहलाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर रेफर गरिएको छ भने सामान्य घाइते रन्जना कुमारीको बयलवासमै उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलले सुरुमा रन्जना कुमारीलाई ठक्कर दिएको थियो । त्यसपछि चालकले मोटरसाइकल लिएर भाग्न खोज्दा ७० वर्षीय वृद्ध महेन्द्र साहलाई ठक्कर दिएर बिजुलीको पोलमा ठोक्किएको हो ।




